वीरगंज, २१ साउन – वीरगंजस्थित ओम नेशनल साइन्स प्लस टु कलेज यस वर्ष पनि पर्सा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। साउन १९ गते सोमबार सार्वजनिक कक्षा १२ को परीक्षाको नतिजाअनुसार कलेजमा अध्ययनरत विद्यार्थीहरूले पर्सामा सबैभन्दा बढी ए प्लस ग्रेड हासिल गरेको कलेज प्रशासनको दाबी छ।
परीक्षामा सहभागी विद्यार्थीमध्ये १४ जनाले ग्रेड ए प्लस ल्याएका छन् भने ८६ जनाले ग्रेड ए प्राप्त गरेका छन्। यो संख्या पर्सा जिल्लाका सबै कलेजहरूमध्ये सबैभन्दा बढी भएको कलेजले जनाएको छ।
कलेजका कोअर्डिनेटर एमडी अमितका अनुसार, ओम कलेजको इतिहासमा यसपटक सबैभन्दा उत्कृष्ट नतिजा आएको हो।यसअघि पनि कलेजले मधेश प्रदेश र राष्ट्रिय स्तरमै उत्कृष्ट नतिजा ल्याएर इतिहास रचिसकेको कलेजकी निर्देशक शोभा यादवले बताइन्।
पर्सा जिल्लामा करिब एक दर्जन साइन्स प्लस टु कलेजहरू सञ्चालनमा छन्। ती सबै कलेजहरूलाई पछि पार्दै ओम नेशनल कलेजका विद्यार्थीहरूले यस वर्ष सबैभन्दा बढी ग्रेड ए प्लस र ए ल्याउन सफल भएका हुन्।




