काठमाडौँ,२३ साउन । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महेन्द्र राय यादवले समाजवादी मोर्चाको भविश्यप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले मोर्चाका सदस्य दलहरूबीच अब स्पष्ट निर्णय गर्नुपर्ने बेला आएको भन्दै या त एकता गरिनु पर्ने वा मोर्चा विघटन गरेर आ–आफ्नो बाटो लाग्नुपर्ने धारणा व्यक्त गरेका छन्।
रातोपाटीसँगको कुराकानीमा अध्यक्ष यादवले भने, “विगतमा समान विचारधारा भएका दलहरूबीच मोर्चाबन्दीको आवश्यकता थियो। मोर्चाले समाजवादी जागरणमा केही भूमिका पनि खेलेको छ। तर अहिले त्यो औचित्य म देख्दिनँ। अब या त हामी एउटै शक्ति भएर अगाडि बढ्नुपर्छ, होइन भने आ–आफ्नै बाटो समात्नुपर्छ।”
उनका अनुसार अब विस्तारै निर्वाचनको माहोल आउँदैछ, जसका लागि प्रत्येक दलले छुट्टै तयारी गर्न पाउनुपर्ने समय आएको छ। मोर्चाको निष्क्रियता र साझा रणनीतिक अभावले यसमा स्पष्टता ल्याउनु जरुरी भएको उनले बताए।
अध्यक्ष यादवले नेकपा माओवादी केन्द्रको सन्दर्भ उठाउँदै भने, “यदि माओवादीले चाँडै महाधिवेशन गरी चुनावी तयारी सुरु गर्छ भने, त्यसले राम्रो नतिजा दिन सक्छ।”
गत वर्ष साउन १ गतेदेखि नेसपा समाजवादी मोर्चामा आबद्ध भएको थियो। मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी सहभागी छन्।
अध्यक्ष यादवको यस्तो अभिव्यक्तिले मोर्चाभित्र एकता कि विघटन भन्ने बहस थप चर्किने संकेत देखिएको छ।

