उत्तराखण्डको धराली बाढीमा बेपत्ताको थर–ठेगाना अस्पष्ट, खोजीमा कठिनाई

spot_img

काठमाडाैं,२८ साउन । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीस्थित धराली बजारमा साउन २० गते ‘क्लाउड ब्रस्ट’ पछि खीरगंगा नदीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको एक साताभन्दा बढी भइसकेको छ। बाढीले बजार क्षेत्रका घर–होटल बगाउँदा कतिपय संरचना भागीरथी नदीसम्म पुगेका छन्।

उत्तरकाशी प्रहरीले हालसम्म ४ जनाको मृत्यु पुष्टि गरेको भए पनि दुई जनाको मात्र शव भेटिएको छ। बाढीमा ५० भन्दा बढी बेपत्ता भएको अनुमान छ, जसमा २१ जना नेपाली समेत छन्। दिल्लीस्थित नेपाली दूतावासका अनुसार प्रहरी र प्रशासनको सूचनाका आधारमा उनीहरूको नाम सार्वजनिक गरिएको हो। तर धेरैको थर र ठेगाना नखुल्दा परिचय यकिन गर्न कठिनाइ भएको दूतावासका काउन्सिलर प्रकाश मल्लले बताए।

उनका अनुसार केही नाम जाजरकोटबाट सम्पर्कविहीन भनिएका सूचीसँग मिल्ने देखिए पनि ठेगाना स्पष्ट नभएकाले पुष्ट गर्न सकिएको छैन। धादिङका सम्पर्कविहीन भनिएका केही नेपालीहरू भने पछिल्लो समय भेटिएका छन्।

दूतावासले सार्वजनिक गरेका हराएका नेपालीको सूचीमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर सिंह, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश, प्रिया, दीपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर र अन्य रहेका छन्। तर कतिपयको नाम जाजरकोटको सूचीमा छैनन्, जसले खोजीलाई थप जटिल बनाएको छ।

धराली क्षेत्रमा उद्धार गरिएको नेपालीहरूलाई अग्लो डाँडामा स्थानीयसँगै सामूहिक भान्सा र बासको व्यवस्था गरिएको छ। यहाँ सडक निर्माण, स्याउ टिप्ने, होटल व्यवसाय र गंगोत्री यात्रामा भारी बोक्ने काम गर्ने नेपालीहरू धेरै छन्।

उत्तरकाशीका डिएम प्रशान्त आर्यका अनुसार पछिल्लो समय फोन सेवा सुचारु भएपछि हराइरहेकाहरू मध्ये धेरैजना सम्पर्कमा आएका छन्। आइतबार मात्रै बर्डर रोड अर्गनाइजेशनमा काम गर्ने २६ नेपाली सुरक्षित रहेको जानकारी आएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय