पाकिस्तानमा स्वतन्त्रता दिवसको उत्सवमा हवाई फायरिङले ३ को मृत्यु, ६४ घाइते

spot_img

काठमाडाैं,२९ साउन । पाकिस्तानको ७८औँ स्वतन्त्रता दिवसको उत्सव देशका विभिन्न स्थानमा उल्लासपूर्वक मनाइए पनि कराँचीमा हवाई फायरिङका घटनाले त्यो उत्सव दुःखदमा परिणत भएको छ। आइतबार राति देखिएको अव्यवस्थित उत्सवका क्रममा तीन जनाको ज्यान गएको छ भने कम्तीमा ६४ जना घाइते भएका छन्।

जियो न्यूजका अनुसार मृतकमध्ये एक वृद्धा र ८ वर्षीया बालिका पनि परेका छन्। अजिजाबादमा हवाई फायरिङबाट छर्राले लागेर बालिकाको मृत्यु भएको थियो भने कोरङ्गीमा स्टेफन नामका एक व्यक्तिको ज्यान गएको हो।

उद्धारकर्मीहरूले कराँचीभर विभिन्न स्थानमा गोली चलाउँदा दर्जनौं व्यक्ति घाइते भएको पुष्टि गरेका छन्। लियाकताबाद, कोरङ्गी, लियारी, महमूदाबाद, अख्तर कालोनी, केमारी, ज्याक्सन, बल्दिया, ओरांगी टाउन, पापोश नगर, नर्थ नाजिमाबाद, सुरजनी टाउन, जमान टाउन र लान्धी लगायतका क्षेत्रमा हवाई फायरिङको रिपोर्ट आएको छ।

घाइतेहरूलाई सिभिल, जिन्ना, अब्बासी शहीद अस्पताल लगायतका सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ।

प्रहरीले मोमिनाबाद, लियाकताबाद, पापोश नगर, समनाबाद, ओरांगी टाउन र केमारीलगायत स्थानबाट २० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ। उनीहरूबाट गैरकानुनी हतियार र गोलीबारुद बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि मुद्दा दर्ता भइसकेको छ।

अधिकारीहरूले यसप्रकारको हवाई फायरिङलाई “लापरवाह र खतरनाक अभ्यास” भन्दै नागरिकलाई उत्सव सुरक्षित तरिकाले मनाउन आग्रह गरेका छन्। प्रहरी प्रवक्ताले हवाई फायरिङमा संलग्न जो कोहीलाई समेत कडा कारबाही गरिने चेतावनी दिएका छन्।

गत वर्ष मात्र कराँचीमा यस्तै उत्सवका क्रममा ९६ जना घाइते भएका थिए भने २०२३ मा ८० जना घाइते भएका थिए। यसपटक पनि पुरानै त्रासदी दोहोरिँदा स्वतन्त्रता दिवसको रौनकमा शोकको छायाँ परेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय