विराटनगर,३० साउन । स्थापना भएको तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयले अखेर गोठगाउँस्थित स्कूल अफ मेडिसिनमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने अनुमति पाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहित एमबीबीएस पाठ्यक्रम सञ्चालनको स्वीकृति दिएको हो। विश्वविद्यालयका लागि यो निर्णय ऐतिहासिक मीलका पत्थर मानिएको छ।
लामो समयदेखि असफल हुँदै आएको प्रयास यसपटक सफल बनाउन सुन्दरहरैचावासीको निरन्तर पहल, प्रदेशबासीको समर्थन, विश्वविद्यालय परिवारको सामूहिक प्रयास, पूर्वाधारको तयारी र नेपाल सरकारको निर्णायक निर्णय महत्वपूर्ण भएको बताइएको छ।
पूर्वाञ्चल विश्वविद्यालयका सेनेट सदस्य रञ्जन ओझाले यस दिनलाई ‘हाम्रो परिकल्पना साकार भएको क्षण’ भन्दै प्रधानमन्त्री ओली, चिकित्सा शिक्षा आयोग, उपकुलपति प्रा.डा. बिजु कुमार थपलिया, सांसद डा. शेखर कोइराला र डा. सुनिल शर्मा, विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, चिकित्सक, कर्मचारी, स्थानीय राजनीतिक दल र सरोकारवालाप्रति आभार प्रकट गरे।
ओझाले यो उपलब्धि कोशी प्रदेशको स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा ‘गेम चेन्जर’ बन्ने दाबी गर्दै अब लाखौँ नागरिकले आफ्नै प्रदेशमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने तथा दक्ष चिकित्सक उत्पादन हुने विश्वास व्यक्त गरे।




