काठमाडौं,३० साउन । भारतको जम्मू–कश्मीरको किश्तवाड जिल्लामा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ।
बीबीसी हिन्दीका अनुसार, मृतकमध्ये ३५ जनाको शव अस्पताल पुर्याइएको छ, जसमा ११ जनाको पहिचान भइसकेको छ। बाढीमा परी १ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् भने मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
अहिलेसम्म ७० जना घाइते उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका छन्। उद्धारका लागि ६०–६० जनाको पाँच समूह बनाएर सुरक्षाकर्मीहरू खटाइएको स्थानीय प्रशासनले जनाएको छ।
यो बाढी हिजो बिहान करिब साढे ११ बजे किश्तवाडको चाशोती क्षेत्रमा भीषण वर्षापछि अचानक आएको हो।

