काठमाडौं,०२ भदौ । दुई दिने नेपाल भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम मिस्री सोमबार स्वदेश फर्किँदैछन् । आइतबार बिहान काठमाडौं ओर्लिएका उनले दिनभर उच्चस्तरीय भेटवार्ता गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए । ओली प्रधानमन्त्री बनेको १४ महिनापछि भारतले यस्तो निमन्त्रणा दिएको हो ।
मिस्रीले आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए । त्यस्तै उनले राष्ट्रपति रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटे । प्रचण्डलाई भेट्न उनी खुमलटार पुगे भने देउवालाई भेट्न बूढानीलकण्ठ गएका थिए ।
साँझ परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग मन्त्रालयमै भेटवार्ता गरेका मिस्रीले त्यसपछि परराष्ट्र सचिव अमृतबहादुर राईसँग द्विपक्षीय वार्ता गरेका थिए । कनेक्टिभिटी, व्यापार, ऊर्जा र विकास सहयोगलगायतका विषयमा उनीहरूबीच विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौंस्थित भारतीय दूतावासका अनुसार मिस्री सोमबार बिहान पशुपतिनाथको दर्शन गरेर दिल्ली फर्किनेछन् । उनको भ्रमण परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा भएको हो ।

