काठमाडौं,२१ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया कडा बनाउने तयारी गरेको छ । पार्टीले तयार पारेको नयाँ मापदण्डअनुसार सहकारी ठगी, मिटरब्याज, हुन्डी, सट्टेबाजी तथा अवैध आर्थिक कारोबारमा संलग्न व्यक्तिले रास्वपाबाट उम्मेदवार बन्न नपाउने भएका छन् ।
पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ । रास्वपाले यसलाई सक्षम, पारदर्शी र जिम्मेवार नेतृत्व छनोटको नयाँ अभ्यासका रूपमा प्रस्तुत गरेको छ ।
मस्यौदाअनुसार उम्मेदवार बन्न चाहने व्यक्ति २१ वर्ष पूरा भएको, सम्बन्धित स्थानीय तहको मतदाता भएको र अन्य दलको सदस्यता त्याग गरिसकेको हुनुपर्नेछ । साथै सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्र लगायतका आवश्यक कागजात पेश गर्न सहमत हुनुपर्ने उल्लेख छ ।
रास्वपाले नैतिक आचरणलाई विशेष प्राथमिकतामा राख्दै घरेलु हिंसा, यौन दुर्व्यवहार, साइबर बुलिङ वा सामाजिक सञ्जालमार्फत चरित्र हत्या जस्ता गतिविधिमा संलग्न व्यक्तिलाई पनि उम्मेदवार बन्न अयोग्य ठहर गर्ने तयारी गरेको छ ।
त्यसैगरी भ्रष्टाचार, ठेक्कापट्टामा स्वार्थ बाझिने अवस्था तथा अदालत वा अख्तियारमा फौजदारी मुद्दा विचाराधीन रहेका व्यक्तिलाई पनि उम्मेदवारी नदिने नीति पार्टीले अघि सारेको छ । रास्वपाले यी प्रावधानमार्फत स्वच्छ छवि भएका व्यक्तिलाई मात्र राजनीतिमा अघि ल्याउने उद्देश्य राखेको जनाएको छ ।

