काठमाडौँ,०३ भदाै । खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका नेपाली नागरिकको शव छिट्टै नेपाल ल्याउन सरकारले कुवेत सरकारसँग समन्वय गरिरहेको छ। हालसम्म उक्त घटनामा १२ नेपाली श्रमिकको मृत्यु भएको छ।
परराष्ट्र मन्त्रालयले कुवेतस्थित नेपाली राजदूतावासमार्फत आवश्यक समन्वय र सहकार्य भइरहेको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने, “बिरामीको उपचार र ज्यान गुमाएकाको शव नेपाल ल्याउन आवश्यक सबै पहल भइरहेको छ। हामी पूर्ण जिम्मेवारी र क्षमतासाथ काम गरिरहेका छौँ।”
कुवेतको साल्मिया क्षेत्रमा नेपालीसहित अन्य एसियाली मुलुकका प्रवासी श्रमिकहरू मदिरा सेवनका कारण बिरामी परेका थिए। कुवेत स्वास्थ्य मन्त्रालयले गत शुक्रबार २३ विदेशी श्रमिकको मृत्यु र १६० जनाभन्दा बढीको उपचार भइरहेको जानकारी सार्वजनिक गरेको थियो।
कुवेतस्थित नेपाली राजदूत घनश्याम लम्सालका अनुसार, मदिरा सेवनका कारण ५६ जना नेपाली विभिन्न अस्पतालमा भर्ना भएका थिए र १२ जनाको मृत्यु भएको छ। केही उपचारपछि डिस्चार्ज भएका छन् भने २४–२५ जना अझै उपचाररत छन्। उनले भने, “उपचारमा रहेका नेपालीहरूको स्थिति बुझ्न लगातार अस्पताल पुगिरहेका छौँ। ज्यान गुमाएकाको शव छिटोभन्दा छिटो नेपाल पठाउन कुवेत सरकारसँग समन्वयमा छौँ।”
घटनापछि कुवेत प्रहरीले अवैध मदिरा उत्पादन र बिक्री–वितरणमा संलग्न ७१ जनालाई पक्राउ गरेको छ। तीमध्ये सन्दिग्ध आरोपीको पहिचान गरी उनीमाथि हत्या आरोपमा मुद्दा चलाउने तयारी भइरहेको छ। समाचारअनुसार, मदिरा उत्पादन नेटवर्कको नेतृत्व बंगलादेशी नागरिकले गरेको बताइएको छ। पक्राउ परेकामध्ये एक सन्दिग्ध नेपालीले मिथानोल आधारित पेय पदार्थ बनाउने र बेच्ने कुरा स्वीकार गरेको छ।
कुवेतमा मदिराको उत्पादन, बिक्री र वितरण अवैध मानिन्छ। मदिरा सेवनबाट बिरामी परेका सबैलाई उनीहरूको देशमा फिर्ता पठाउने र भविष्यमा कुवेत फर्किन नपाउने व्यवस्था लागू गरिने कुवेती समाचारमा उल्लेख छ।

