काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको विश्वासअनुसार माता सीताको जन्म जनकपुरधाममा भएको हो । विवाह पञ्चमीका दिन अयोध्याबाट जन्ती जनकपुर आउने परम्परा आजसम्म चल्दै आएको छ । तर भारतले भने हाल बिहारको पुनौराधामलाई सीताको जन्मभूमि भन्दै त्यहाँ भव्य मन्दिर निर्माण सुरु गरेको छ ।
भारतीय गृहमन्त्री अमित शाहले गत साउन २३ गते (अगस्ट ८) पुनौराधाममा ८९० करोड भारतीय रुपैयाँ (करिब १४ अर्ब २४ करोड नेपाली रुपैयाँ) लागतमा जानकी मन्दिर निर्माणको शिलान्यास गरेका हुन् । उनले सीताको प्रकट त्यहीँ भएको दाबी गर्दै मिथिलाञ्चलको संस्कृति भारतकै गौरव भएको बताए ।
शाहका अनुसार निर्माण हुने मन्दिरमा स्मारक, धार्मिक स्थल, स्वास्थ्य सुविधा, रामायणको थ्रीडी अनुभवलगायत आधुनिक संरचना रहनेछन् । उनले राम–सीतासम्बन्धी सबै स्थललाई पुनर्जीवित गर्ने घोषणा समेत गरे ।
यसअघि भारतले बुद्धको जन्मभूमि नेपालकै लुम्बिनी भए पनि कपिलवस्तु नजिकै बिहारमा बुद्धसँग सम्बन्धित संरचना निर्माण गरी प्रचार गरिरहेको आरोप छ । अहिले सीताको जन्मभूमिसम्बन्धी दाबीलाई पनि त्यस्तै ‘सांस्कृतिक अतिक्रमण’को रूपमा हेर्ने गरिएको छ ।
तर भारतकै केन्द्रीय गृहमन्त्रीको अभिव्यक्ति सार्वजनिक भएको दुई सातापछि पनि नेपाल सरकारले औपचारिक धारणा दिएको छैन ।

