काठमाडौँ,०७ भदौ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन आज नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आउँदै छन्। उपराष्ट्रपति रामसहाय प्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकी हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भदौ ७ देखि ९ गतेसम्म हुने यो भ्रमण भियतनामतर्फबाट नेपालमा हुने पहिलो उच्चस्तरीय भ्रमण हो, जसलाई अत्यन्तै महत्वपूर्ण मानिएको छ।
भ्रमणको क्रममा भदौ ८ गते काठमाडौँमा उपराष्ट्रपति यादव र सुआनबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने छ। साथै, उनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वहरूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
नेपाल–भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ परेको वर्षमा भइरहेको यस भ्रमणलाई दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।

