काठमाडौं,०८ भदौ । गाजामा युद्धविरामको माग गर्दै शनिबार हजारौं मानिस इजरायलका सडकमा प्रदर्शनमा उत्रिएका छन्। विभिन्न शहरमा भएको र्यालीमा सहभागीहरूले सेनाद्वारा गाजा सिटी कब्जा गर्ने योजनाले बाँकी रहेका बन्दीहरूको जीवन जोखिममा पर्न सक्ने भन्दै विरोध जनाएका छन्।
इजरायलका पूर्व रक्षा मन्त्री बेनी ग्यान्ट्जले बन्दीहरूको रिहाइलाई प्राथमिकता दिने अस्थायी राष्ट्रिय सहमतिका लागि सरकार निर्माण गर्न आह्वान गरेका छन्। तर प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको गठबन्धन युद्ध अन्त्यका लागि हमाससँग कुनै सम्झौताको विरोधी रहेको र अतिदक्षिणपन्थीको समर्थनमा टिकेको छ।
यसैबीच, गाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायली आक्रमण र कुपोषणका कारण ६० भन्दा बढी मानिसको मृत्यु भएको दाबी गरेको छ। संयुक्त राष्ट्रका महासचिवले गाजाको अवस्था “मानवताको असफलता” भएको भन्दै तत्काल युद्धविराम, सबै बन्दीको रिहाइ र मानवीय पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन्।

