वडाध्यक्ष कुशवाहा ६ महिनाका लागि निलम्बन 

spot_img

बारा,१० भदाै । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई नेकपा माओवादी केन्द्रले ६ महिनाका लागि निलम्बन गरेको छ। पार्टीले उनीमाथि शिक्षकलाई बन्धक बनाएर मदिरा सेवनको नशामा कुटपिट गरेको गम्भीर आरोप पुष्टि भएपछि अनुशासनात्मक कारबाही गरेको हो।

कुशवाहा माओवादीको पूर्व जिल्ला सदस्य हुन् भने माओवादी केन्द्रबाट २०७९ सालमा निर्वाचित वडाध्यक्ष हुन्। कुशवाहासहित ८ जनाले पर्साको बहुदरमाई घर भई हाल बाराको प्रसौनी ६ बेलहीयामा बस्दै आएका शिक्षक नागेश्वर यादवलाई कुटपिट गरेको आरोप छ। मदिरा सेवन गरी यादवलाई नग्न बनाएर वडा कार्यालयमै कुटपिट गरेको भिडियोसमेत माओवादीले फेला पारेको छ।

अराजक गतिविधि र पार्टी अनुशासन उलंघन गरेको भन्दै माओवादी केन्द्रका मधेस इन्चार्ज मातृका यादवले कुशवाहालाई निलम्बन गरेका हुन्। कुशवाहाको पार्टी सदस्यता खारेज गर्न र जिम्मेवारीबाट हटाउन माओवादीको प्रसौनी गाउँ समितिले भदौ ५ गते र बारा जिल्ला समन्वय समितीले भदौ ७ गते प्रदेश समितिलाई पत्र लेखेको थियो।

जिल्ला समिति बाराका इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठले विभिन्न पाँच कारण देखाउँदै कुशवाहालाई पार्टी सदस्यता खारेज गर्न माग गरेका थिए। श्रेष्ठले पत्रसहित शिक्षक यादवलाई कुटपिट गरेको भिडियो समेत प्रदेश कमिटीलाई उपलब्ध गराएका थिए। कुशवाहाको सदस्यता खारेज गर्न र सम्पूर्ण जिम्मेवारीबाट हटाउन पत्राचार गरेपनि प्रदेश कमिटीले भने ६ महिनाका लागि मात्रै पार्टी सदस्यबाट निलम्बन गरेको हो।

यता पीडित शिक्षक यादवले दिएको जाहेरीका आधारमा बारा प्रहरीले वडाध्यक्ष कुशवाहालाई भदौ २ गते नियन्त्रणमा लिएको थियो। प्रहरीले कुशवाहालाई अमानवीय व्यवहारको मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता बिजयराज पण्डितले जानकारी दिए। कुशवाहा अहिलेपनि प्रहरी हिरासतमै छन्।

कुशवाहा यसअघि पनि चेक अनादर, कुटपिटसहित विभिन्न मुद्दामा संलग्न थिए। बारा जिल्ला अदालतको फैसला आदेश कार्यान्वयन गराउने क्रममा प्रहरीले जेठ ११ गते कुशवाहालाई पक्राउ गरी अदालतमा पेस गरेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय