बीरगन्ज,२० भदाै । भारत सरकारले दैनिक उपभोग्य वस्तुमा वस्तु तथा सेवा कर (जीएसटी) दर घटाएपछि नेपालका सीमावर्ती उद्योगी–व्यवसायीहरू चिन्तित भएका छन्। भारतले १२ र १८ प्रतिशत दरमा रहेका वस्तुमा अब ५ प्रतिशत मात्र कर लागू गरेपछि नेपाली बजारमा यसको प्रत्यक्ष असर पर्न सक्ने देखिएको छ।
उद्योगी–व्यवसायीहरू का अनुसार भारतमा मूल्य घट्दा नेपालमा चोरी–पैठारी र तस्करीको जोखिम बढ्नेछ। “नेपालमा दैनिक उपभोग्य वस्तुमा १३ प्रतिशत भ्याट र भन्सारका कारण मूल्य बढी पर्छ। यसले गर्दा नेपाली बजारमा चोरी–पैठारीका वस्तु हावी हुने सम्भावना छ,” उनले बताए।
राठीले सीमावर्ती बजारमा सस्ता सामान उपलब्ध भएपछि नेपाली उपभोक्ताहरू त्यहाँ तिर आकर्षित हुने र स्वदेशी उद्योगहरू बन्द हुने जोखिम समेत रहेको औँल्याए। मोरङ उद्योग व्यापार संघले भारतको निर्णयले नेपाली बजार र सरकारको राजस्वमा नकारात्मक असर पर्ने भन्दै तत्काल कर नीतिमा सुधार गर्न माग गरेको छ।
संघले आफ्नो विज्ञप्तिमा सुझाव दिएका छन्:
अत्यावश्यक वस्तुमा न्यून कर, मध्यम वर्गीय वस्तुमा मध्यम कर र विलासी वस्तुमा उच्च कर लागू गर्न।
दैनिक उपभोग्य वस्तुमा लाग्दै आएको अन्तःशुल्क र भन्सार घटाउन।
स्वदेशी उद्योगको नकारात्मक असर कम गर्न कर छुट, पुँजीगत अनुदान र ब्याज सहुलियत प्रदान गर्न।
संघले भारतको कदमले टेक्सटाइल, स्टेशनरी, खाद्यान्न, फुटवेयर र कन्जुमर ड्युरेबल्स जस्ता उद्योग प्रभावित हुने र समग्र नेपाली अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी दिएको छ।
अघिल्लो व्यवस्था अनुसार भारतमा वस्तु अनुसार ५, १२, १८ र २८ प्रतिशत दरको जीएसटी लाग्थ्यो। अब १२ र १८ प्रतिशत जीएसटीमा पर्ने दैनिक उपभोग्य वस्तु ५ प्रतिशतको दरमा समावेश गरिएको छ।



