बीरगन्ज,२१ भदौ । बीरगन्जमा दुई हप्ता यताकै हैजाको संक्रमण फैलिएको छ, तर यसको स्रोत अहिलेसम्म पत्ता लाग्न सकेको छैन। पहिलो संक्रमितको पुष्टि भदौ ६ गते भएको थियो, र शुक्रबार बेलुकीसम्म १९२ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ।
स्वास्थ्य कार्यालय पर्सा, नेपाल खानेपानी संस्थान र बीरगन्ज महानगरपालिकाले प्रभावित क्षेत्रका डिप बोरिङ र घरका पानीका नमूना संकलन गरी परीक्षण गरिरहेका छन्। केही स्थानमा दिसाजन्य किटाणु ‘इ–कोली’ भेटिए पनि हैजाको कारण हुने ‘भिब्रियो कोलेरा’ किटाणु अहिलेसम्म भेटिएको छैन।
गत बुधबारमात्रै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य कार्यालय पर्साले बीरगन्जका शंकास्पद ११ स्थानबाट खानेपानीको नमूना संकलन गरी त्यसको गुणस्तर परीक्षण गरेकोमा चार ठाँउको पानीमा दिसाजन्य किटाणु ’इ–कोली’ भेटिएको छ । तर ती पानीमा हैजाको संक्रमण हुने ‘भिब्रियो कोलेरा’ किटाणु भने फेला परेन ।
यस्तै भदौं १२ गते बीरगन्ज महानगरपालिकाको टोलीले वडा नम्बर १०, ११ र १२ का गरी ७ स्थानबाट डीप बोरिङ र खानेपानी संस्थानका धाराको पानीको नमूना महानगरकै खानेपानी प्रशोधन केन्द्रको प्रयोगशालामा परीक्षण गर्दापनि त्यसमा पनि हैजाको भिब्रियो कोलेरा वा दिसाजन्य किटाणु भेटिएन ।
गत भदौं १४ गते बीरगन्ज आएका गृहमन्त्री रमेश लेखकले बीरगन्जमा हैजाको संक्रमण छिट्टै पत्ता लगाउने दाबी गरेका थिए । अस्पतालहरुको अनुगमनपछि सरोकारवालाहरुसंगको छलफलमा उनले भनेका थिए,‘हैजाको संक्रमण फैलिनुको कारण पत्ता लगाउन सरकार लागि पर्छ ।यसको कारण नै के हो ? भनेर पत्ता लाग्न जरुरी छ । संक्रमण फैलिएको निक्कै दिन भइसक्दा पनि यसको कारण के हो ? अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।अब हामी कारण पत्ता लगाउन पनि ध्यान दिन्छौ । त्यसका लागि सरकार लागी पर्छ ।’
हालसम्म १९२ संक्रमितमध्ये १७५ जना डिस्चार्ज भइसकेका छन् र अस्पतालमा १७ जना मात्र उपचाररत छन्। घरमै उपचार पछि निको भएका झाडापखालाका बिरामीको संख्या ९९१ पुगेको छ।
गृहमन्त्री रमेश लेखकले संक्रमितको स्रोत पत्ता लगाउन सरकारले सक्रिय भूमिका खेलिरहेको बताइसकेका छन्। तर दुई हप्ता बितिसक्दा पनि हैजाको वास्तविक स्रोत पत्ता लाग्न सकेको छैन।

