सप्तरी,०२ असोज । जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटबाट राजविराजस्थित वन डिभिजन कार्यालयमा एक करोड ७१ लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।
भदौ २४ गतेको प्रदर्शनमा प्रदर्शनकारीले कार्यालय भवनमा आगजनी तथा तोडफोड गर्नुका साथै विभिन्न जिन्सी सामान लुटपाट गरेका थिए। प्रारम्भिक मूल्यांकनअनुसार १ करोड ७१ लाख ८१ हजार ९४० रुपैयाँ बराबरको क्षति भएको वन डिभिजन कार्यालय प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए।
उनका अनुसार करिब ७० लाख रुपैयाँ बराबरको भवन जीर्ण बनेर प्रयोगयोग्य नरहेको छ। साथै कम्प्युटर, ल्यापटप, अग्नि नियन्त्रण उपकरण, एयर ब्लोवर, जीपीएस सेट, प्रोजेक्टर, सीसी क्यामेरा, एसी, सोफा, दराज, टेबल–कुर्सी जस्ता सामग्री जल्नुका साथै केही चोरी समेत भएका छन्।
आगजनीका कारण कार्यालयमा रहेका धेरैजसो कागजात पनि पूर्ण रूपमा नष्ट भएका छन्। यस कारण तत्काल कार्यालय सञ्चालन असम्भव भएको र हाल राजविराज–८ स्थित पुरानो भूसंरक्षण कार्यालयबाट अस्थायी रूपमा सेवा प्रवाह गर्ने तयारी भइरहेको दासले बताए। “तीन–चार दिनभित्र नयाँ स्थानबाट नियमित सेवा सुरु गरिन्छ,” उनले भने।
लुटेर लगिएका सामग्री फिर्ता गर्न सार्वजनिक सूचना जारी गरिएको छ। सो क्रममा तीनवटा जेट सुटर र एउटा जीपीएस उपकरण प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको रोहबरमा फिर्ता भएको भए पनि अन्य सामान अझै भेटिएको छैन।
जेनजी आन्दोलनको क्रममा सप्तरीमा सरकारी निकायहरू मध्ये वन डिभिजन कार्यालय सबैभन्दा बढी प्रभावित भएको मानिएको छ।

