संविधान दिवसलाई ‘कालो दिन’का रूपमा मनाउने मोर्चाको निर्णय

spot_img

काठमाडाैं,०२ असाेज । संघीय लोकतान्त्रिक मोर्चाले असोज ३ गते मनाइने संविधान दिवसलाई ‘कालो दिन’का रूपमा मनाउने घोषणा गरेको छ । २०७२ सालमा जारी गरिएको संविधानलाई अधुरो र अपूर्ण ठहर गर्दै मोर्चाले शहीदहरूको सम्झनामा विरोध कार्यक्रम गर्ने जनाएको हो ।

मोर्चाको केन्द्रीय सचिवालय बैठकपछि जारी विज्ञप्तिमा २०७२ साल असोज ३ गते ‘एकतर्फी रूपमा संविधान लादिएको’ आरोप लगाइएको छ । सोही दिनदेखि निरन्तर विरोध प्रदर्शन गर्दै आएको मोर्चाले यस वर्ष पनि सामूहिक रूपमा कालोपट्टी बाँधी विरोध जनाउने बताएको छ ।

मोर्चाले हालैको ‘जेनजी’ युवा आन्दोलनलाई समर्थन गर्दै सरकारले युवाको भावनाअनुसार कदम चाल्नुपर्नेमा जोड दिएको छ । विविधता र समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै राज्यका अंग–अंगमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भन्दै मोर्चाले चेतावनीसमेत दिएको छ ।

तर, आन्दोलनको नाममा संघीय लोकतान्त्रिक गणतन्त्र र जनअधिकार कमजोर पार्ने कुनै पनि गतिविधि अस्वीकार्य हुने स्पष्ट पारेको छ । साथै, आन्दोलनमा घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने अराजक तत्वलाई छानबिन गरी कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।

बैठकले मोर्चाका नेताहरू राजेन्द्र महतो, हृदयेश त्रिपाठी, सर्वेन्द्र नाथ शुक्ला, शरतसिंह भण्डारी, निर्जला राउत, मो. लालबाबु राउतसहित विभिन्न व्यवसायीहरूको घर र सम्पत्तिमा भएको क्षतिको प्रति चिन्ता व्यक्त गरेको छ । साथै, प्रभावितलाई क्षतिपूर्ति दिने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय