काठमाडाै,०१ फागुन । सन् २०२४ को जनविद्रोहपछि सम्पन्न पहिलो आमनिर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमतसहित ऐतिहासिक जित हासिल गरेको दाबी गरेको छ। बिहीबार सार्वजनिक नतिजाअनुसार ३०० सदस्यीय संसदमा सरकार गठनका लागि आवश्यक १५१ सिटको बहुमत पार गर्दै बीएनपीले हालसम्म २०३ सिट जितेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बीएनपीका तर्फबाट ६० वर्षीय तारिक रहमान प्रधानमन्त्रीका उम्मेदवार छन्। उनी १७ वर्षको लण्डन निर्वासनपछि गत डिसेम्बरमा स्वदेश फर्किएका हुन्। रहमान दिवंगत पूर्वप्रधानमन्त्री खालिदा जियाका पुत्र हुन्, जसको गत डिसेम्बरमा निधन भएको थियो।
कट्टरपन्थी धार्मिक दल जमात-ए-इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनले कम्तीमा ६० सिट जितेको छ। उसका प्रमुख सफिकुर रहमान ढाकाबाट निर्वाचित भएका छन् र संसदमा विपक्षी दलको नेता बन्ने सम्भावना रहेको छ।
विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले स्थापना गरेको नेशनल सिटिजन पार्टीका प्रमुख नाहिद इस्लामसहित अन्य शीर्ष नेताहरू पनि निर्वाचित भएका छन्, जसले नयाँ राजनीतिक शक्तिको उदय संकेत गरेको विश्लेषण गरिएको छ।
बीएनपीको विजयसँगै अन्तर्राष्ट्रिय बधाई सन्देश आउन थालेका छन्। बंगलादेशका लागि अमेरिकी राजदूत ब्रेन्ट टी. क्रिस्टेन्सनले यसलाई ऐतिहासिक जित भन्दै सहकार्यका लागि तत्परता जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रहमानको नेतृत्वप्रति बंगलादेशी जनताले देखाएको विश्वासको प्रशंसा गर्दै द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। त्यस्तै, पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले लोकतान्त्रिक साझेदारी र साझा प्रगतिमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
यो निर्वाचन सन् २०२४ को जुलाईमा भएको रक्तपातपूर्ण विद्यार्थी आन्दोलनपछि सत्ताच्युत भई भारत पलायन गरेका शेख हसिनापछिको पहिलो निर्वाचन हो। मतदानका दिन देशभर कडा सुरक्षा व्यवस्था गरिएको थियो।
निर्वाचनसँगै राजनीतिक सुधारसम्बन्धी जनमत संग्रह पनि सम्पन्न गरिएको छ, जसमा प्रधानमन्त्रीको कार्यकाल सीमा निर्धारण र कार्यकारी अधिकारमा थप नियन्त्रण जस्ता प्रस्ताव समावेश गरिएको थियो।
विगत १५ वर्षदेखि विपक्षी भूमिकामा रहेको बीएनपीले यसअघि धेरै निर्वाचन बहिष्कार गरेको इतिहास छ। नवनिर्वाचित नेता तारिक रहमानले समर्थकहरूलाई विजय जुलुस नगरी शान्तिपूर्ण रूपमा विशेष प्रार्थना गर्न आग्रह गरेका छन्।

