काठमाडौं,११ असोज । अबदेखि अमेरिकी डिभी (डाइभर्सिटी भिसा) लट्री आवेदन भर्नेलाई एक डलर शुल्क तिर्नुपर्ने भएको छ। यसअघि आवेदन फारम भर्दा शुल्क लाग्दैनथ्यो।
अमेरिकी विदेश मन्त्रालयको निर्णयअनुसार २०२७ को डिभी कार्यक्रमदेखि यो नियम लागू हुनेछ। उक्त कार्यक्रम २०२५ अक्टोबरमा खुल्नेछ। अमेरिकाको फेडरल रजिस्टरले जारी गरेको सूचनामा भनिएको छ, “धोखाधडी घटाउन र प्रशासनिक खर्च समान रूपमा बाँड्न सबै आवेदकबाट एक डलर शुल्क लिइनेछ।”
डिभी फारम भर्दा पासपोर्ट अनिवार्य हुने प्रावधान भने यथावत रहनेछ। साथै अन्तिममा भिसा पाउँदा तिर्नुपर्ने ३३० डलर शुल्क पनि पुरानै रहनेछ।
शुल्क कसरी तिर्ने ?
अमेरिकी विदेश मन्त्रालयले भुक्तानी प्रक्रिया र नियमबारे विस्तृत जानकारी चाँडै सार्वजनिक गर्ने जनाएको छ। तर स्पष्ट भएको कुरा के छ भने आवेदन शुल्क अनलाइन फारम भर्दा नै आधिकारिक भुक्तानी पोर्टलमार्फत तिर्न सकिनेछ। शुल्क तिरेपछि मात्र फारम सबमिट हुने व्यवस्था रहनेछ।
भुक्तानीका लागि अन्तर्राष्ट्रिय कार्ड जस्तै Visa, MasterCard, PayPal, American Express प्रयोग गर्न सकिने बताइएको छ। नेपालमा भने सबैभन्दा सहज र सुरक्षित विकल्प भिसा र मास्टरकार्ड हुनेछन्, जुन विभिन्न बैंकमार्फत उपलब्ध छन्। तर यी कार्डको भुक्तानी सीमा (payment limit) बारेमा पहिले नै बुझेर आवेदन दिन विशेषज्ञहरूले सुझाव दिएका छन्।

