काठमाडौं,१२ असोज । नेपाल एयरलाइन्सले चीनको ग्वाञ्जाओ गन्तव्यमा नियमित उडान सुरु गरेको छ। शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको जहाज पहिलोपटक ग्वाञ्जाओ पुगेको हो।
निगमले असोज ९ गतेदेखि उडान गर्ने तयारी गरेको भए पनि प्राविधिक समस्या आएका कारण उद्घाटन उडान केही दिन ढिला भएको थियो। उद्घाटनका लागि जम्मा भएका अतिथि र यात्रुहरूलाई निगमले व्यवस्थापन गरेको प्रवक्ता मनोजकुमार साहले बताए।
पहिलो उडानमार्फत ग्वाञ्जाओ पुगेको जहाज १०७ यात्रुसहित आइतबार काठमाडौँ फर्किएको छ। निगमले हरेक हप्ता तीनवटा नियमित उडान गर्ने तालिका तय गरेको छ। असोज १२, ३०, कात्तिक २ र ६ गते अर्को उडान हुने र त्यसपछि प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओ जाने कार्यक्रम रहेको छ।
नेपाल एयरलाइन्सले काठमाडौँ–ग्वाञ्जाओ मार्गमा एकतर्फी भाडादर ३० हजार रुपैयाँ र दोहोरो टिकट ५० हजार रुपैयाँ निर्धारण गरेको छ। यस गन्तव्यमा हाल चीनको चाइना साउदर्न र नेपालकै हिमालय एयरलाइन्सले पनि उडान भर्दै आएका छन्। नेपालीहरूको उपस्थिति धेरै रहेको ग्वाञ्जाओ रुटले निगमलाई आर्थिक लाभ दिलाउने अपेक्षा गरिएको छ।
ग्वाञ्जाओ उडान सुरु भएपछि नेपाल एयरलाइन्सले हालसम्म नौ देशका ११ अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गरेको छ। निगमसँग हाल दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज रहेका छन्, जसबाट दोहा, क्वालालम्पुर, दुबई, हङकङ, दिल्ली, मुम्बई, बैङ्गलोर, बैंकक, दमाम र जापानको नारितामा नियमित उडान भइरहेका छन्।

