ओडिशामा साम्प्रदायिक तनाव बढ्दा कर्फ्यु र इन्टरनेट बन्द

spot_img

काठमाडौँ,२० असोज । भारतको ओडिशा राज्यमा दुई समुदायबीच झडप भएपछि सुरक्षा स्थिति नियन्त्रणबाहिर गएको छ। स्थानीय प्रशासनले तनाव नियन्त्रणका लागि इन्टरनेट र सामाजिक सञ्जाल सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ भने प्रभावित क्षेत्रमा ३६ घण्टाका लागि कर्फ्यु लागू गरिएको छ।

विशेष गरी कटक क्षेत्रमा, विश्व हिन्दू परिषद् (VHP) ले आज १२ घण्टे बन्दको आह्वान गरेको छ। समस्या दुई दिनअघि दुर्गा पूजा विसर्जनका क्रममा भएको झडपबाट सुरु भएको हो, जसले सामुदायिक तनाव बढाएको बताइएको छ।

प्रदर्शनका क्रममा ढुंगामुढा र हिंसात्मक घटना हुँदा कम्तीमा ८ जना प्रहरी र २५ जना नागरिक घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो।

ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले घटनाप्रति दुःख व्यक्त गर्दै सबै पक्षलाई शान्ति कायम राख्न आह्वान गर्नुभएको छ। उहाँले हिंसामा संलग्न व्यक्तिहरूलाई कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिनुभएको छ।

हाल, कटकसहित अन्य प्रभावित क्षेत्रहरूमा ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मी तैनाथ गरिएको छ। साथै अफवाह फैलिन नदिन सञ्चारमाध्यमहरूलाई संयमता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय