काठमाडौं, २२ असोज । ओमानमा आजदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक (EAP) रिजनल फाइनल अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको छ ।
खेल ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा नेपाली समयअनुसार बेलुका ८:४५ बजे सुरु हुनेछ ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र कुवेत अहिलेसम्म तीनपटक आमनेसामने भएका छन् । तीमध्ये नेपालले दुई खेल जितेको छ भने कुवेतले एकपटक नेपाललाई पराजित गरेको छ । दुवै देश पछिल्लोपटक यसै वर्ष अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा दुईपटक भिडेका थिए — जहाँ लिग चरणमा नेपाल विजयी भए पनि फाइनलमा कुवेतले नेपालमाथि बदला लिएको थियो ।
आजको खेल दुबै टिमका लागि महत्वपूर्ण मानिएको छ । यस खेलमा जित्ने टोलीको सुपर सिक्स चरणमा प्रवेश लगभग पक्का हुने अनुमान गरिएको छ । नेपालका लागि कुवेत चुनौतीपूर्ण प्रतिस्पर्धी साबित हुनसक्नेछ ।
यस पटकको छनोट प्रतियोगितामा ९ टोली सहभागी छन्, जसबाट ३ टिमले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकप २०२६ को टिकट पाउनेछन् । यसपटक एसिया क्षेत्र र इस्ट एसिया–पेसिफिक क्षेत्रलाई संयोजन गरेर प्रतियोगिता आयोजना गरिएको छ ।
नेपालले यस प्रतियोगिताका लागि निम्न टोली घोषणा गरेको छः
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा र सोमपाल कामी।

