नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित

spot_img

काठमाडौं,२३ असोज । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एण्ड इस्ट (एसिया प्यासिफिक) छनोटमा नेपालले शानदार सुरुआत गरेको छ। अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी प्रवेश गरेको हो।

नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको कुवेत १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमै समेटिएको थियो। कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले २६ रन र यासिन पटेलले १९ रनको योगदान दिए। बाँकी ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन्।

ललित राजवंशी, रोहित पौडेल र सन्दीप लामिछानेले समान २–२ विकेट लिए,सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले १–१ विकेट हात पारे।पहिलो ओभरमै सोमपालले कुवेतका ओपनर सान्दारुवानलाई बोल्ड गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रनको प्रतिस्पर्धात्मक स्कोर तयार गरेको थियो।नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ५६ बलमा ६६ रन बनाए — जसमा तीन चौका र तीन छक्का समावेश थिए।त्यस्तै दीपेन्द्रसिंह ऐरिले १९ बलमा २० रन र कप्तान रोहित पौडेलले १६ रनको योगदान दिए। अन्य खेलाडीले खास प्रदर्शन गर्न सकेनन्।कुवेतका बलर नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान २–२ विकेट, जबकि मोहम्मद आकिफ फरुकले १ विकेट लिए।

यो जितसँगै नेपालले समूह ‘बी’मा आफ्नो स्थान मजबुत बनाउँदै सुपर सिक्स चरणमा प्रवेशको आधार तयार गरेको छ।नेपाल अब शुक्रबार जापानसँग समूहको दोस्रो खेल खेल्नेछ।

यस प्रतियोगितामा ९ टोली सहभागी छन्, जसलाई तीन समूहमा बाँडिएको छ।प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्ने छन्।सुपर सिक्स पनि राउन्ड–रोबिन आधारमा खेलाइनेछ, र त्यसबाट शीर्ष तीन टोलीले अगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान सुनिश्चित गर्नेछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय