काठमाडौं,२४ असोज । ओमानमा जारी आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत नेपालले आज जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ। खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे अल अमिरातस्थित ओमान क्रिकेट मैदानमा सुरु हुनेछ।
समूह ‘बी’मा रहेका नेपाल र जापान दुवैले आफ्नो पहिलो खेल जित्दै सुपर सिक्समा स्थान सुनिश्चित गरिसकेका छन्। अब आजको भिडन्त समूह विजेता निर्धारण गर्ने निर्णायक खेलका रूपमा हेरिँदैछ।
नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले हराउँदै प्रभावशाली सुरुआत गरेको थियो। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले बलिङ र ब्याटिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गरेको थियो। उता, जापानले पनि कुवेतलाई पराजित गर्दै आत्मविश्वास बढाएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोलीले पछिल्ला खेलहरूमा राम्रो संयोजन र लय देखाएको छ। आजको खेलमा पनि बलिङ, फिल्डिङ र शीर्षक्रमको ब्याटिङमा सुधारसहित उत्कृष्ट प्रदर्शन हुने अपेक्षा गरिएको छ।
नेपालको टोलीमा छन् — कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ शेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र सोमपाल कामी।
प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रका नौ टोली सहभागी छन्, जसलाई तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सपछि शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान पाउनेछन्।




