मोदीलाई छठ पर्व मनाउका लागि नक्कली यमुना !!

दिल्लीमा नक्कली यमुना बनाएको आरोप, आपले मोदीको छठ पूजामा विरोध

spot_img

एजेन्सी, दिल्ली । दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको छठ पूजाका लागि नक्कली यमुना तयार पारेको आम आदमी पार्टी (आप)ले आरोप लगाएको छ। आपका अनुसार फिल्टर गरिएको पानीबाट बनाइएको कृत्रिम पोखरीलाई यमुना भनिएको छ।

प्रधानमन्त्री मोदी मंगलबार उत्तर दिल्लीको वासुदेव घाटमा छठ पूजामा सहभागी हुने कार्यक्रम रहेको छ। आपका अध्यक्ष सौरभ भारद्वाजका अनुसार सो पोखरीमा वजीराबाद वाटर ट्रीटमेन्ट प्लान्टको पाइपलाइनबाट आएको पानी प्रयोग गरिएको छ। उनले यो कदम जनता र बिहार–पूर्वाञ्चलका श्रद्धालुहरूलाई बेवकुफ बनाउने प्रयास भएको बताए।

भारद्वाजले भने, “प्रधानमन्त्री नक्कली यमुनामा डुबुल्की लगाउनेछन्, तर सर्वसाधारणहरूले प्रदूषित यमुनामै नुहाउनुपर्नेछ। यमुनाको पानी प्रदूषित भएकाले स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। भाजपा केवल बिहारबाट मत पाउन जनस्वास्थ्य र आस्थासँग खेलबाड गर्दैछ।”

आपका संयोजक अरविन्द केजरीवालले पनि सामाजिक सञ्जालमा भाजपाको यो कदम छठ पर्वको आस्थामाथि ठट्टा भएको टिप्पणी गरेका छन्।

यसैबीच, दिल्ली भाजपाका प्रमुख वीरेन्द्र सचदेवले आपका आरोपलाई राजनीतिक निराशाको नतिजा भनेका छन्। उनका अनुसार, आप सरकारले पहिले घाट सरसफाइमा विरोध गरेका थिए। अहिले भाजपाले घाट सफा गरेर श्रद्धालुका लागि खोलेको छ, त्यसमा आपले विरोध गरिरहेको बताएका छन्।

सन् २०१८ देखि २०२४ सम्म आप सरकारकै कार्यकालमा यमुनाको किनारमा छठ पूजा प्रतिबन्धित थियो। यस वर्ष पाँच वर्षपछि अनुमति पाएर श्रद्धालुहरूले घाटमा पूजा गरे तापनि पानी र सरसफाइ पर्याप्त नभएको आरोप लगाएका छन्।

छठ पर्व मुख्यतः बिहार, उत्तर प्रदेश, झारखण्ड र नेपालमा हिन्दूहरूले मनाउने पर्व हो। यस वर्ष पर्व शनिबारदेखि सुरु भई मंगलबारसम्म सम्पन्न हुनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय