काठमाडौं, १२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो भिडन्तमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कप्तान कुशल मल्लले काठमान्डु गोर्खाजलाई पहिला ब्याटिङको निम्तो दिएका हुन्।
काठमान्डु गोर्खाजले अघिल्लो खेलको प्लेइङ–११ यथावत् राखेको छ भने चितवनले एक मात्र परिवर्तन गरेको छ। अमरसिंह राउटेलाको स्थानमा रिजन ढकाल टोलीमा पुनः फर्केका छन्।
चितवनले यसअघि खेलेका तीन खेलमध्ये दुईमा जित र एकमा हार व्यहोरेको छ। काठमान्डुको चार खेलको यात्रामा दुई जित र दुई हार छन्। दुवै टोलीसँग समान ४–४ अंक भए पनि नेट रनरेटका आधारमा चितवन राइनोज तेस्रो स्थानमा रहेको छ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ, किनकि जितले प्लेअफ प्रतिस्पर्धा अझ रोचक बन्नेछ।

