एनपिएल : पोखराले लुम्बिनीलाई १५१ रनको लक्ष्य सेट गर्दै प्रतिस्पर्धात्मक स्कोर बनायो

spot_img

काठमाडौँ,१३ मंसिर । आडम रोसिङ्टनको शानदार अर्धशतक र जिमी निसमको जम्काभेट उपस्थितिले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको लक्ष्य दिएको छ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन जोड्यो।

पोखराका ओपनर आडम रोसिङ्टनले उत्कृष्ट पारी खेले। उनले ६३ बलमा सात चौका र पाँच छक्कासहित ८१ रन योगदान दिए। जिमी निसमले पनि आक्रामक खेल प्रदर्शन गर्दै ३२ बलमा अविजित ५१ रनको पारी खेले, जसमा तीन चौका र तीन छक्का समावेश थियो।

तर अन्य ब्याट्सम्यानले प्रभाव जमाउन सकेनन्। दिनेश खरेल सात रनमा आउट भए भने कप्तान कुशल भुर्तेल र सेमित वर्मा दुवै शून्यमै पभेलियन फर्किए। त्रितराज दास पनि एक रनमै सीमित हुँदा पोखराको सुरुआत कमजोर रह्यो। तर रोसिङ्टन र निसमको साझेदारीले टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍यायो।

लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए भने गुलवदिन नइवले एक विकेट हात पारे।
दुवै टोलीले यसअघि तीन–तीन खेल खेलेका छन् र समान दुई अंकसहित तालिकाको छैटौँ र सातौँ स्थानमा रहेका छन्। आजै अर्को खेलमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र साविक च्याम्पियन जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय