काठमाडौँ,१३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच दोस्रो खेल हुँदैछ। त्रिवि क्रिकेट रंगशालामा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
अहिलेसम्म लगातार तीन खेलमा जितविहीन रहेकाले अङ्क तालिकाको पुछारमा रहेको जनकपुरका नियमित कप्तान अनिल साह आजको खेलमा प्लेइङ ११ मा परेका छैनन्। सुदूरपश्चिमविरुद्ध जनकपुर विदेशी खेलाडी वेयन पर्नेलको कप्तानीमा मैदानमा हुनेछ।
तीन खेल खेलिसकेको जनकपुर शनिबारको खेलमा पहिलो जितको खोजीमा छ। अर्कोतर्फ, चार खेल खेलिसकेको सुदूरपश्चिम अपराजित रहँदै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। यस खेलमा सुदूरपश्चिम विजयी भए प्लेअफमा उसको स्थान सुनिश्चित हुनेछ।
आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गरेको थियो।

