काठमाडौं,१८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ को आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जित्दै काठमाडौँ गोल्डेन्सलाई पहिले ब्याटिङ गर्ने अवसर दिएको छ।
अघिल्लो खेलको टोलीमै निरन्तरता दिंदै पोखराले कुनै परिवर्तन गरेको छैन। काठमाडौँले भने एक परिवर्तन गरेको छ – आईएलटी–२० खेल्न दुबई फर्किएका जेरार्ड एरासमसको स्थानमा सन्नी पटेललाई सामेल गरिएको छ।
५ खेलमा २ जित र ३ हारसहित ४ अंक बटुलेको पोखराका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण हुने छ। आजको खेल जित्न सफल भए र अन्तिम खेलमा पनि जित निकाल्न सके प्लेअफमा प्रवेश गर्ने सम्भावना निकै बलियो हुनेछ।
तर पोखरा पराजित भएमा अधिकतम ६ अंकमै सीमित हुने भएकाले प्लेअफको ढोका लगभग बन्द हुने सम्भावना बढ्नेछ।



