प्याब्सन बीरगन्जद्वारा विद्यालयस्तरीय टी–१० क्रिकेटको दोस्रो संस्करण आयोजना

spot_img

बीरगन्ज,०१ पुस ।  निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) बीरगन्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्रा तथा जुनियर छात्र टी–१० नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, नेतृत्व क्षमता, आपसी सहकार्य र टिमवर्कको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्याब्सन बीरगञ्जले जनाएको छ ।

प्रतियोगितामा प्याब्सन अन्तर्गतका विभिन्न विद्यालयका ३३ वटा छात्रा टिम र ४ देखि ३४ वटा जुनियर छात्र टिम सहभागी हुनेछन् । प्रतियोगिता बीरगन्जस्थित आदर्शनगर रंगशालामा सञ्चालन हुनेछ । उद्घाटन समारोह पुष २ गते बिहान ११ बजे हुने तय गरिएको छ भने प्रतियोगिता पुष १६ गते सम्पन्न हुनेछ ।

टी–१० नकआउट ढाँचामा आयोजना हुने प्रतियोगिताले सीमित समयमा युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ । प्रतियोगिता खेल भावना, निष्पक्षता र अनुशासनको पूर्ण पालना गर्दै सञ्चालन गरिने जनाइएको छ ।

पुरस्कारतर्फ विजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो हुने टिम र प्लेट च्याम्पियनसिप विजेतालाई पनि ट्रफी प्रदान गरिनेछ । सहभागी सबै विद्यालयलाई प्रमाणपत्र दिइनेछ ।

व्यक्तिगत पुरस्कारतर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी, प्रत्येक खेलका उत्कृष्ट खेलाडी, फाइनल तथा तेस्रो स्थानको खेलका उत्कृष्ट खेलाडी, प्लेट च्याम्पियनसिप फाइनलका उत्कृष्ट खेलाडीसहित उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर र सर्वाधिक अनुशासित टिमलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने सचिव अमित आलोकले जानकारी दिए ।

बीरगञ्जको खेलकुद विकासलाई प्राथमिकतामा राख्दै विशेषगरी छात्रा क्रिकेटको प्रवर्द्धन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । यसले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै भविष्यका सक्षम खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्याब्सन बीरगञ्जले व्यक्त गरेको छ ।

प्रतियोगिताबारे आयोजित पत्रकार सम्मेलनमा प्याब्सन बीरगन्जका नगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, वरिष्ठ सल्लाहकार अशोक सङौला, मार्टिन मोक्तान, आलोक चौरसिया र विजय बलको उपस्थिति रहेको थियो । आयोजकले प्रतियोगिता सफल बनाउन विद्यालय, अभिभावक, शिक्षक, खेलप्रेमी र सञ्चारकर्मीहरूको सहयोग अपेक्षा गरेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय