ओमको पहिलो जीत, बीआइटी ९ विकेटले पराजित

spot_img

वीरगञ्ज — पाँचौँ संस्करणको नेशनल इन्फोटेक अन्तरकलेज ट्वान्टी–ट्वान्टी क्रिकेट कप (एनआइ–कप) अन्तर्गत चौथो दिनको दोस्रो खेलमा ओम नेशनल एकेडेमीले सशक्त प्रदर्शन गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरेको छ। ओमले वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजी (बीआइटी)लाई ९ विकेटले पराजित गर्‍यो।

टस जितेर पहिले ब्याटिङ रोजेको बीआइटी १७.१ ओभरमै सबै विकेट गुमाउँदै ७८ रनमै सीमित भयो। सानो लक्ष्य पछ्याएको ओम नेशनल एकेडेमीले १२.३ ओभरमा १ विकेटको क्षतिमा ७९ रन बनाउँदै सहज जीत हासिल गर्‍यो। यसअघि ओम पहिलो दिन वीरगञ्ज पब्लिक कलेजसँग ३८ रनले पराजित भएको थियो।

ओमको जीतमा ओपनर जोडी रञ्जन पटेल र कुनाल मिश्र चम्किए। दुवैले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्दै टोलीलाई बलियो आधार दिए। रञ्जनले ३८ बलमा दुई चौका र एक छक्कासहित ३८ रन बनाए भने कुनालले ३६ बलमा छ चौका प्रहार गर्दै ३५ रन जोडे।

बीआइटीका ब्याटरहरू चल्न नसक्दा टोली सस्तो योगफलमा समेटियो। ओपनर जिशाल आलम शून्य र नितेश यादव २ रनमै आउट भए। टोलीका लागि मोहम्मद सोहेल अन्सारीले सर्वाधिक २० रन र निखिल कुमार पटेलले १३ रन जोडे।

बलिङतर्फ ओमका आदिल हवारीले ३ विकेट लिए। त्यस्तै दीपक पटेल, कुनाल मिश्र र कप्तान शेख सोहेल अख्तरले समान २–२ विकेट हात पारे।

यसैदिन बिहान भएको पहिलो खेलमा ज्ञानदा एकेडेमीले अल्पाइन हाइ स्कुलविरुद्ध शानदार जीत निकालेको छ। प्रतियोगिताको पाँचौँ दिन भोलि बिहान ९ बजेदेखि कलैयाको बाल एकता कलेज र ज्ञानदा एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो १ बजेदेखि ग्लोबल बिजनेस कलेज र ओम नेशनल एकेडेमी आमनेसामने हुने आयोजकले जनाएको छ।

एनआइ–कप तराई–मधेस क्षेत्रकै सबैभन्दा ठूलो र लोकप्रिय अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको रूपमा स्थापित हुँदै आएको छ। नेशनल इन्फोटेक कलेजले विगत पाँच वर्षदेखि निरन्तर आयोजना गर्दै आएको यस प्रतियोगिताले स्थानीय कलेजका विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक क्रिकेटको अवसर उपलब्ध गराउनुका साथै क्षेत्रीय स्तरमा खेलकुद विकास र क्रिकेटप्रतिको उत्साह बढाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकहरूको दाबी छ।

यस संस्करणमा पर्सा, बारा र मकवानपुर जिल्लाका १० कलेज सहभागी छन्। सहभागी टिमहरूलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आयोजक नेशनल इन्फोटेक कलेज, हेटौँडा स्कुल अफ म्यानेजमेन्ट, अल्पाइन स्कुल, बाल एकता बोर्डिङ स्कुल र ज्ञानदा एकेडेमी छन्। समूह ‘बी’ मा वीरगञ्ज पब्लिक कलेज, ओम नेशनल एकेडेमी, ग्लोबल एकेडेमी, डेसिमल कलेज र वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजी समावेश छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय