काठमाडौं,११ पुस । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा अनुबन्ध भएका नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम राजशाही वारियर्सले आज प्रतियोगिताको पहिलो खेल खेल्दैछ ।
राजशाही वारियर्सले शुक्रबार सिलेट टाइटन्सविरुद्ध मैदान उत्रिनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुने तय भएको छ । पहिलो खेलमै सन्दीप लामिछाने प्लेइङ–११ मा पर्न सक्ने सम्भावना बलियो देखिएको छ ।
यस सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्ससँग अनुबन्ध भएका हुन् । यो सँगै बीपीएलमा उनको यो दोस्रो सहभागिता हो । रोचक संयोग के छ भने आजको पहिलो खेलमै सन्दीपले सामना गर्न लागेको टिम सिलेट टाइटन्स नै हो, जसमा उनी सन् २०१९ मा अनुबन्ध भएका थिए ।
राजशाही वारियर्सको कप्तानी बंगलादेशका नजमुल हुसेन गर्दैछन् । टिममा नेपाल प्रिमियर लिग खेलिसकेका अनुभवी अलराउन्डर जिमी निशम पनि समावेश छन् । नेपाली क्रिकेट प्रशंसकको ध्यान आज सन्दीपको प्रदर्शनतर्फ केन्द्रित हुने देखिन्छ ।

