वीरगञ्ज । तराई–मधेस क्षेत्रकै लोकप्रिय अन्तरकलेज ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता, नेशनल इन्फोटेक (एनआइ) कप, अन्तर्गत पहिलो सेमीफाइनलमा ज्ञानदा एकेडेमीले वीरगञ्ज पब्लिक कलेज (बीपीसी) लाई ६ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको छ।
वीरगञ्जस्थित टिबी शाह (नारायणी) क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बीपीसीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो। टोलीका लागि अयान आलमले ३४ रन र आयुष गुप्ताले २७ रनको योगदान गरे, तर अन्य ब्याट्सम्यानको प्रदर्शन कमजोर रह्यो।
जवाफी ब्याटिङमा उत्रिएको ज्ञानदा टोलीले सुरुवातदेखि नै खेलमा पकड जमायो। विवेक प्रजापतिले अविजित ६७ रन बनाए, जसमा ८ चौका र २ छक्का समावेश थिए। कप्तान चन्दन रामले पनि १९ रन बनाउँदै अविजित रह्यो। १५ ओभरमै ४ विकेट गुमाएर १२२ रन बनाउँदै ज्ञानदाले सहज जीत हात पारेको थियो।
बलिङमा पनि ज्ञानदाका खेलाडीहरू उत्कृष्ट देखिए। चन्दन राम र प्रियांस सर्राफले २–२ विकेट लिए भने मुना यादव र रुपेश साह कानुले १–१ विकेट हात पारे। बीपीसीका केही बलरहरूले पनि विकेट लिए, तर त्यो पर्याप्त भएन।
जीतसँगै ज्ञानदा एकेडेमीले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। प्रतियोगितामा अहिलेसम्म खेलेको हरेक खेलमा विजयी भएको ज्ञानदा टोलीको फाइनलमा प्रदर्शनप्रति खेलप्रेमीहरू उत्साहित छन्।
आजको दोस्रो सेमीफाइनलमा नेशनल इन्फोटेक कलेज र ग्लोबल बिजनेस कलेजबीच खेल भइरहेको छ। विजयी हुने टोलीसँग ज्ञानदाले भोली फाइनलमा भिड्नेछ।
एनआइ–कप तराई–मधेसको युवा क्रिकेट प्रेमीहरूका लागि प्रमुख प्लेटफर्म बनेको छ। पर्सा, बारा र मकवानपुरका कुल १० कलेजका टोलीहरू दुई समूहमा विभाजित भएर प्रतिस्पर्धा गर्दै आएका छन्। समूह ‘ए’ मा ज्ञानदा एकेडेमीसहित ५ टोली छन् भने समूह ‘बी’ मा बीपीसी र अन्य ४ टोली सहभागी छन्।
प्रतियोगिताले स्थानीय विद्यार्थीलाई प्रतिस्पर्धात्मक क्रिकेटको अवसर मात्र नदिएर, क्षेत्रीय स्तरमा खेलकुदको विकास र क्रिकेटप्रतिको उत्साह बढाउन पनि महत्वपूर्ण योगदान दिएको आयोजकको दाबी छ।

