बीरगन्ज, १४ पुस । बीरगन्जमा आयोजित नेशनल इन्फोटेक अन्तरकलेज टी–२० क्रिकेट कप (एनआई कप) को पाँचौँ संस्करणको उपाधि आयोजक नेशनल इन्फोटेक (एनआई) कलेज ले जितेको छ।
नारायणी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा एनआई कलेजले ज्ञानदा एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। ज्ञानदा एकेडेमीले दिएको १३८ रनको लक्ष्य एनआई कलेजले १९.१ ओभरमा ५ विकेट गुमाउँदै सहजै पूरा गर्यो।
एनआई कलेजको जितमा परिमार्जन यादवले ४९ रन र मोहताब आलमले ४८ रनको महत्वपूर्ण योगदान दिए। बलिङतर्फ ज्ञानदा एकेडेमीका रोबिन कुमारले ३ विकेट र अंकुश गुप्ताले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ज्ञानदा एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो। ज्ञानदाका लागि विवेक प्रजापतिले ३६ रन र अंकित कुर्मीले ३५ रन जोडे। एनआई कलेजका बलर निरज पटेलले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए भने अभय यादवले १ विकेट हात पारे।
पर्सा क्रिकेट संघको समन्वयमा नेशनल इन्फोटेक कलेजले आयोजना गरेको उक्त प्रतियोगितामा पर्सा, बारा र मकवानपुर जिल्लाका १० वटा कलेज टिमहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले विद्यार्थीस्तरमा क्रिकेटको विकास र खेलकुदप्रति रुचि बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

