प्याब्सन टी–१० क्रिकेट सम्पन्न, ब्लु हेभन र लिटल फ्लावर बने च्याम्पियन

spot_img

बीरगन्ज,१५ पुस । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भएको दोस्रो संस्करणको प्याब्सन टी–१० बोयज तथा गल्र्स क्रिकेट प्रतियोगिता मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ।

वीरगञ्जको आदर्शनगर रंगशालामा सम्पन्न जुनियर बोयजतर्फको फाइनल खेलमा पर्साको ग्रामीण क्षेत्रस्थित ब्लु हेभन एकेडेमी ले वीरगञ्जको साउथ जोन स्कुल लाई पराजित गर्दै उपाधि हात पारेको हो। यससँगै पुरुष वर्गमा पहिलोपटक ग्रामीण भेगको विद्यालयले प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास बनाएको आयोजकले जनाएको छ।

यस्तै, गल्र्सतर्फको फाइनल खेलमा लिटल फ्लावर एकेडेमीले नेशनल एकेडेमी लाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको छ। पराजित नेशनल एकेडेमी उपविजेतामा सीमित रहँदा, तेस्रो स्थान साउथ जोन स्कुल र चौथो स्थान एसआर ग्यालेक्सी स्कुल ले प्राप्त गरेका छन्।

पुरुष वर्गतर्फ तेस्रो स्थान मनकामना स्कुल र चौथो स्थान लिटल फ्लावर एकेडेमी ले हासिल गरेका छन्।

विजेता तथा उपविजेता विद्यालयहरूलाई वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछाने ले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे।

सो अवसरमा बोल्दै प्रमुख अतिथि लामिछानेले शिक्षासँगै खेलकुद पनि विद्यार्थीको सर्वाङ्गीण विकासको आधार भएको उल्लेख गर्दै, केही चुनौती रहे पनि आगामी दिनमा महानगरपालिकाले खेलकुद प्रवर्द्धनका लागि आवश्यक तयारी गरिरहेको बताए। खेलकुदले व्यक्तिगत क्षमता विकाससँगै समाज र राष्ट्रको पहिचान बलियो बनाउने भएकाले विद्यार्थीहरूलाई यसतर्फ सक्रिय हुन उनले आग्रह गरे।

प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, मानव सेवा आश्रम वीरगञ्जका दिवेश गुप्ता, प्याब्सन मधेस प्रदेश सल्लाहकार मनि पाख्रिङ, लालबाबु पटेल, वरिष्ठ उपाध्यक्ष सुशिला शाह, सचिव अशोक संग्रौला, सह–कोषाध्यक्ष सुदिल प्रसाद पटेल, हिसान जिल्ला उपाध्यक्ष आलोक चौरसिया, नगर कोषाध्यक्ष सुरज बाबु पटेल, सदस्य विजय बललसहित विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य नगर उपाध्यक्ष शर्मानन्द कुशवाले राखेका थिए भने कार्यक्रमको सहजीकरण नगर सचिव अमित आलोकले गरेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय