वीरगञ्ज, २६ पुस – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष किशोर गौतमले निजी विद्यालयप्रति राज्यको दृष्टिकोण सकारात्मक नरहेको बताएका छन्।
वीरगञ्जमा सम्पन्न प्याब्सन पर्साको दोस्रो जिल्ला परिषद् भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले शैक्षिक क्षेत्रमा निजी क्षेत्रले राज्यलाई उल्लेखनीय सहयोग पुर्याउँदै आएको भए पनि त्यसअनुसारको कदर राज्यबाट नपाइएको गुनासो व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गौतमले निजी विद्यालयप्रति रहेको राज्यको नकारात्मक दृष्टिकोण परिवर्तन गर्न सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उनले निजी क्षेत्रलाई प्रतिस्पर्धीका रूपमा होइन, सहकार्यका रूपमा हेर्नुपर्ने धारणा राखे।
उपाध्यक्ष गौतमले वीरगञ्जस्थित ठाकुर राम कलेजको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भने, “जस कलेजबाट सांसद र मन्त्री उत्पादन भएका छन्, त्यही ठाकुर राम कलेजको अवस्था आज हरिविजोग देख्दा दुःख लाग्छ।”

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा, मधेश प्रदेशका उपाध्यक्षद्वय पूरण प्रधान र इमामुद्दिन अहमद, मधेश प्रदेश प्राज्ञिक सल्लाहकार लालबाबु पटेल, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार हरिश्याम ठाकुर, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, हिसानका केन्द्रीय सदस्य मुकेश गुप्ता, प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गरेका थिए।
भेलामा प्याब्सन सदस्य विद्यालयमा १० वर्षभन्दा बढी समयदेखि कार्यरत शिक्षक–शिक्षिकाहरू, एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयहरू तथा प्याब्सन मधेश प्रदेश समितिमा मनोनित पदाधिकारी र सल्लाहकारहरूलाई सम्मान गरिएको थियो।




