काठमाडौँ,१४ वैशाख । नेपाली कांग्रेसले संसद्को अधिवेशन बोलाएर फेरि स्थगित गर्दै अध्यादेशमार्फत कानुन ल्याउने सरकारको तयारीप्रति असन्तुष्टि जनाएको छ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले संसद् जनताको बहस गर्ने प्रमुख थलो भएकाले त्यसलाई पन्छाएर अध्यादेश ल्याउनु उचित नहुने बताएका हुन्।
उनका अनुसार संसद् बोलाइसकेपछि बिना स्पष्ट कारण स्थगित गर्नु र त्यसपछि अध्यादेश ल्याउने बाटो रोज्नु लोकतान्त्रिक अभ्याससँग मेल खाँदैन।
चालिसेले भने, “जनताको थलोमा सबै विषय पारदर्शी रूपमा छलफल हुनुपर्छ। संसद् छल्दै अध्यादेश ल्याउने कुरा मर्यादित कदम होइन।”
उनले यस्तो प्रक्रियाले सरकारलाई दीर्घकालीन रूपमा पनि अनुकूलता नदिने दाबी गर्दै संसद् मार्फत नै कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

