राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानकाे शिलान्यास

spot_img

तनहुँ,१४ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल ले तनहुँको भानु नगरपालिका–४, चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ को शिलान्यास गरेका छन्। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य को जन्मभूमिलाई अन्तर्राष्ट्रिय साहित्यिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित उद्यान निर्माण थालिएको हो।

राष्ट्रपति पौडेलकै पहलमा अघि बढाइएको यो आयोजना सरकारद्वारा राष्ट्रिय गौरवको योजनाका रूपमा समेटिएको छ। यसअघि विभिन्न कारणले रोकिएको परियोजना अहिले पुनः प्राथमिकतामा राख्दै निर्माण कार्य सुरु गरिएको हो।

सरकारले विनियोजन गरेको करिब २० करोड रुपैयाँबाट उद्यानको पहिलो चरण सुरु हुने भएको छ। प्रारम्भिक चरणमा आधुनिक ‘भानु भवन’ निर्माण गरिनेछ, जसले साहित्यिक गतिविधि र अनुसन्धानका लागि केन्द्रको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

उद्यानभित्र आगामी दिनमा सातै प्रदेशका धार्मिक तथा सांस्कृतिक सम्पदाका नमूना र नेपाली साहित्यका प्रमुख व्यक्तित्वहरूको सालिक स्थापना गर्ने योजना रहेको छ। यसले चुँदी रम्घालाई सांस्कृतिक तथा साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने विश्वास गरिएको छ।

स्थानीय तहका अनुसार यो परियोजना केवल भौतिक संरचना मात्र नभई अनुसन्धान र अध्ययनका लागि महत्वपूर्ण केन्द्र बन्नेछ। आदिकवि भानुभक्तको योगदानलाई विश्वस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको यस योजनाले नेपाली भाषा र साहित्यप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ।

शिलान्यास समारोहलाई भव्य बनाउन सुरक्षा व्यवस्था कडा पारिएको थियो भने स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाजबीच समन्वय गरिएको थियो। आयोजना सम्पन्न भएपछि भानु नगरपालिका नेपाली साहित्यप्रेमीहरूको प्रमुख गन्तव्य बन्ने विश्वास गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय