काठमाडौ,१४ वैशाख । सशस्त्र प्रहरी बल नेपालको १३औँ महानिरीक्षक (आईजीपी)मा नारायणदत्त पौडेल नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हाल अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका पौडेललाई संगठन प्रमुख बनाउने निर्णय गरेको हो। उनले आगामी १८ वैशाखपछि औपचारिक रूपमा कमाण्ड सम्हाल्नेछन्।
हालका आईजीपी राजु अर्याल ४ वर्षे कार्यकाल पूरा गरी १८ वैशाखमा अवकाशमा जाँदैछन्। उनी अवकाशमा गएपछि पौडेलले नेतृत्व सम्हाल्ने भएका हुन्।
पौडेल सशस्त्रभित्र आईजीपी पदका प्रमुख दाबेदार मानिँदै आएका थिए। उनका प्रतिस्पर्धीमध्ये एआईजी वंशी दाहाल र एआईजी गणेश ठाडा मगर पनि थिए, तर वरिष्ठता र सेवा प्रवेशका आधारमा पौडेल अगाडि रहेका थिए।
२०५४ सालमा नेपाल प्रहरीमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका पौडेल पछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए। त्यसपछि विभिन्न पदमा बढुवा हुँदै २०७९ सालमा एआईजी बनेका थिए।
नियमअनुसार ३० वर्षे सेवा हदका कारण उनी १८ चैत २०८४ सम्म संगठन प्रमुख रहनेछन्। यस अवधिमा सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्ने जिम्मेवारी उनले पाएका हुन्।
नवनियुक्त आईजीपी पौडेलसँग संगठनभित्र लामो प्रशासनिक तथा सुरक्षा अनुभव रहेको भन्दै उनको नियुक्तिलाई महत्त्वपूर्ण मानिएको छ।

