जनकपुर,१४ वैशाख । चुरे तथा वनजङ्गल संरक्षण अभियानले रौतहट डिभिजन वन कार्यालयमा देखिएको अनियमितताबारे हस्तक्षेप गर्न आग्रह गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई खुला पत्र सार्वजनिक गरेको छ।
अभियानका अध्यक्ष सुनिल कुमार यादवले पठाएको पत्रमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादव र वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले मौनता अपनाएको आरोप लगाइएको छ।
पत्रमा रौतहट डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत (डीएफओ) हेमन्त साहमाथि विभिन्न अनियमितता र भ्रष्टाचारका गम्भीर आरोप लगाइएको छ। यसअघि महोत्तरीमा कार्यरत रहँदा समेत उनीमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान भएको दाबी गरिएको छ।
अभियानका अनुसार काठ लिलाममा मिलेमतो, सामुदायिक वन बजेट दुरुपयोग, अवैध कटानी, प्रमाण नष्ट गर्न आगजनी, संरचना निर्माणमा आर्थिक लाभ लिने जस्ता गतिविधिमा संलग्नता देखिएको आरोप छ।
त्यसैगरी वन क्षेत्र दोहन, काठ तस्करी र सरुवा प्रक्रियामा समेत अनियमितता भएको दाबी गर्दै तत्काल उच्चस्तरीय छानबिन गर्न माग गरिएको छ।
पत्रमा वन मन्त्रालय स्वयं पनि शंकाको घेरामा रहेको उल्लेख गर्दै स्थलगत अनुगमन, अडिट परीक्षण, बैंक स्टेटमेन्ट जाँच र संलग्न कर्मचारीमाथि कारबाही गर्न आग्रह गरिएको छ।
अभियानले तत्काल छानबिन अघि नबढे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।

