सप्तरीको ४ वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा

spot_img

सप्तरी,१० माघ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा बहुपक्षीय प्रतिस्पर्धा देखिने भएको छ। यस वर्ष यहाँ विभिन्न दलका वरिष्ठ नेता र युवा उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएपछि राजनीतिक सरगर्मी उल्लेखनीय रुपमा बढेको छ।

सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनअधिकार पार्टीका अध्यक्ष डा. शरतसिंह यादव र रास्वपा युवा उम्मेदवार सुशिल कानु चुनावी प्रतिस्पर्धामा छन्। २०७९ को निर्वाचनमा डा. राउत विजयी भएका थिए भने शरतसिंह यादवले नयाँ दल बनाएर मैदानमा फर्किनु भएको छ। यस क्षेत्रमा उम्मेदवारहरूको भिडन्त कडा रहने विश्लेषकहरूको भनाइ छ।

सप्तरी–३ मा एमालेका ताराकान्त चौधरी र उनका भतिजा अमरकान्त चौधरीबीच काका–भतिजाको आमने–सामने प्रतिस्पर्धा हुने देखिन्छ। यस क्षेत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका यादव, राष्ट्रिय मुक्ति पार्टीका गजेन्द्र मण्डल लगायत प्रतिस्पर्धामा छन्।

सप्तरी–१ मा नयाँ दलका युवा नेता ई.सुमित साह, जनमत पार्टीका डा. जयकान्त राउत, कांग्रेसका रामदेव साह, एमालेका सुमनराज प्याकुरेल, रास्वपा की पुष्पा चौधरी मुख्य प्रतिस्पर्धी रहेका छन्।

सप्तरी–४ मा कांग्रेसका पूर्व मन्त्री तेजुलाल चौधरी पुनः चुनावी मैदानमा छन्। यस क्षेत्रमा जसपा नेपालकी डा.बबी सिंह यादव, एमालेका बालकृष्ण चौधरी र नेकपाका रुवी कर्ण पनि प्रतिस्पर्धा गर्ने भएकाले नयाँ र पुराना उम्मेदवारबीच कडा टक्कर रहने स्थानीय मतदाताहरूको अनुमान छ। सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रीय अध्यक्ष र अनुभवी नेता–युवामाझको प्रत्यक्ष भिडन्तले यस वर्षको चुनावलाई रोचक र निर्णायक बनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय