वीरगञ्ज, १० माघ – मधेश प्रदेश प्रहरी कार्यालय वीरगञ्जको खेल मैदानमा आजदेखि प्याब्सन पर्सा जूनियर फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन मधेश प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी गुप्ताले गरेका हुन्। प्रतियोगितामा २१ वटा विद्यालय सहभागी छन्। प्रतियोगिता ४ फिट १० इन्च उचाइ समूहका खेलाडीहरूबीच सञ्चालन भइरहेको प्याब्सन पर्साले जनाएको छ।
उद्घाटन खेल एसआर ग्यालेक्सी मावि र ज्ञान ज्योति माविबीच सम्पन्न भयो। २५–२५ मिनेटको दुई हाफको खेलमा दोस्रो हाफमा एसआर ग्यालेक्सीका आलोक गिरीले निर्णायक गोल गर्दै आफ्नो टिमलाई जित दिलाए। उनलाई खेलको म्यान अफ द म्याच पनि घोषित गरिएको थियो।
उद्घाटन समारोहको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले गरेका थिए। समारोहमा मुख्य प्रायोजक राज होजियारीका प्रोप्राइटर राज साह, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु काकी, प्याब्सन केन्द्रीय सदस्य छेदुप लामा, प्याब्सन मधेश प्रदेश उपाध्यक्ष इमामुदिन अहमद, प्राज्ञिक सल्लाहकार लालबाबु पटेल, प्रेस सेन्टर मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन मधेश प्रदेश अध्यक्ष मनोज पटेल, जिल्ला अध्यक्ष शम्भु कुमार सुमन लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो।
त्यसैबिच, प्याब्सन नेपाल मेडिसिटी अन्तरविद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत दोस्रो दिन तीन खेल सम्पन्न भएका छन्।
दोस्रो दिनको पहिलो खेल लिटल एन्जल्स मावि र ज्ञानदा एकेडेमीबीच भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको लिटल एन्जल्स माविले १५ ओभरमा ८ विकेट गुमाउँदै ८८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको ज्ञानदा एकेडेमीले ११.४ ओभरमै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ४ विकेटले जीत हासिल गर्यो। खेलको म्यान अफ द म्याच ज्ञानदा एकेडेमीका आदित्य महतो घोषित भए।
दोस्रो खेल माउण्ट मकालु र मालिनी एकेडेमीबीच सम्पन्न भयो। टस जितेर बलिङ रोजेको मालिनी एकेडेमीले माउण्ट मकालुलाई १२.१ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमै समेट्यो। तर जवाफी ब्याटिङमा माउण्ट मकालुले लक्ष्य पूरा गर्दै मालिनी एकेडेमीलाई हरायो। यस खेलको म्यान अफ द म्याच माउण्ट मकालुका आकाश कुमार महतो बने।
तेस्रो खेल बीरगञ्ज स्कूल र श्री आदर्श माविबीच भएको थियो। टस जितेर ब्याटिङ रोजेको बीरगञ्ज स्कूलले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै १११ रनको बलियो योगफल तयार पार्यो। जवाफी ब्याटिङमा श्री आदर्श माविले सबै विकेट गुमाउँदै ६५ रनमै समेटियो। बीरगञ्ज स्कूलले सहज जीत हासिल गर्यो। खेलको म्यान अफ द म्याच बीरगञ्ज स्कूलका अनिस कुमार पटेल घोषित भए।

