रौतहट,११ माघ । रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको विशाल फर्निचर मेला सञ्चालनमा आएको छ । श्रीपञ्चमीको अवसरमा शुक्रबारदेखि सुरु भएको यो मेला करिब दुई महिनासम्म चल्ने आयोजकले जनाएका छन् ।
विसं २०६५ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको जयनगर फर्निचर मेला अहिले ग्रामीण क्षेत्रकै सबैभन्दा ठूलो फर्निचर मेलाका रूपमा स्थापित हुँदै गएको नेपाल विश्वकर्मा लोहार सङ्घका अध्यक्ष विवेक शर्माले बताए । उनका अनुसार आकार, कारोबार र सहभागिताका दृष्टिले यो मेला देशकै चर्चित ग्रामीण मेलामध्ये पर्छ ।
मेलामा घरायसी प्रयोगका लागि आवश्यक प्रायः सबै प्रकारका काठका फर्निचर उपलब्ध छन् । पलङ, डाइनिङ सेट, कुर्सी, खाट, चारपाई, बेञ्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराजदेखि बालबालिकाका खेलौनासम्म बिक्रीमा राखिएको छ । साथै कृषिमा प्रयोग हुने फलामका सामग्री जस्तै कोदालो, हँसिया, कुटो, बञ्चरो र खुकुरी पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
रौतहट, सर्लाही, महोत्तरी, बारा, पर्सालगायत जिल्लाबाट दुई सयभन्दा बढी फर्निचर व्यवसायीले आफ्ना उत्पादनहरू मेलामा ल्याएका छन् । व्यवसायी तथा फर्निचर आउने क्रम अझै जारी रहेको अध्यक्ष शर्माले जानकारी दिए । मेलामा नेपालका विभिन्न स्थानबाट मात्र होइन, भारतको बिहार प्रान्तबाट समेत उपभोक्ता र व्यापारीहरू सहभागी हुँदै आएका छन् ।
अन्य स्थानको तुलनामा जयनगर फर्निचर मेला करिब २५ प्रतिशतसम्म सस्तो पर्ने बताइन्छ । स्थानीय काठ प्रयोग गरी स्थानीय सीप र श्रमबाट निर्माण गरिने भएकाले मूल्य सस्तो र गुणस्तर राम्रो हुने आयोजकको दाबी छ । यही कारणले विवाहका लागि दाइजो खरिद गर्नेहरू र सस्तो तथा टिकाउ फर्निचर खोज्ने उपभोक्ताको पहिलो रोजाइ जयनगर मेला बनेको छ ।
मेलाबाट रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौँ, पोखरा, विराटनगर, जनकपुरलगायत नेपालका विभिन्न शहर तथा भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर ढुवानी हुँदै आएको छ । सहज यातायात पहुँच, गुणस्तरीय सामग्री र किफायती मूल्यका कारण जयनगर फर्निचर मेला उपभोक्ता र व्यवसायी दुवैका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

