सप्तरी–२ मा चुनावी सरगर्मी तीव्र, बहुप्रतिस्पर्धी उम्मेदवारको भिड

spot_img

सप्तरी,१२ माघ । सप्तरी क्षेत्र नं. २ प्रतिनिधिसभा निर्वाचन जिल्लाको सबैभन्दा बढी चासोको केन्द्र बनेको छ। बहुप्रतिस्पर्धी उम्मेदवारी र चर्चित नेताहरूको सहभागिताले यस क्षेत्रमा चुनावी गतिविधि तीव्र बनाएको छ।

यस क्षेत्रबाट ३४ जनाले प्रत्यक्ष उम्मेदवारी दिएका छन्। प्रमुख उम्मेदवारमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनता समाजवादी पार्टीबाट पूर्व मन्त्री उमेश यादव, नेपाल जनता पार्टीकी पूर्व सांसद रञ्जुकुमारी ठाकुर, स्वाभिमान पार्टीबाट मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामजी यादव, नेपाली कांग्रेसबाट रामकुमार यादव, नेकपा (एमाले) बाट मोहम्मद जियाउल रहमान र नेपाली कम्युनिस्ट पार्टीबाट सूर्यनाथ यादव (सुभाष) रहेका छन्।

स्थानीय मतदाता र विश्लेषकहरूले डा. सिके राउत, उमेश यादव र रामजी यादवबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरेका छन्। गत निर्वाचनमा यसै क्षेत्रबाट डा. राउतले ३५ हजार ४२ मत प्राप्त गरी विजयी भएका थिए भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९७९ मत पाएका थिए। यसपटक उपेन्द्र यादव क्षेत्र नं. ३ बाट उम्मेदवार भए पनि, नयाँ दल बनाएका पूर्व मुख्यमन्त्री शरद सिंह यादवको सप्तरी–२ बाट उम्मेदवारीले यहाँको राजनीतिक चासो अझ बढाएको छ।

क्षेत्र नं. १ मा नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, नेकपा (एमाले) का निवर्तमान पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल र जनमत पार्टीका उपाध्यक्ष डा. जयकान्त राउतसहित २१ जनाले उम्मेदवारी दिएका छन्। स्थानीय मतदाता ज्योति कुमारी दासका अनुसार यीमध्ये एक जनाले विजयी हुने सम्भावना छ।

क्षेत्र नं. ३ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका निवर्तमान सांसद दिनेश कुमार यादव, नेकपा (एमाले) बाट ताराकान्त चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरकान्त चौधरी र जनमत पार्टीबाट सुरेन्द्र मधेशीसहित २२ जना उम्मेदवार छन्। स्थानीय मतदाता उमाकान्त चौधरीका अनुसार पाँच मुख्य उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका निवर्तमान सांसद तेजुलाल चौधरी, जसपा नेपालबाट डा. बबी सिंह यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिताराम साह, जनमत पार्टीबाट जितेन्द्र कुमार साह र नेपाली कम्युनिस्ट पार्टीबाट रूबी कर्णसहित २७ जना उम्मेदवार मैदानमा छन्। स्थानीय मतदाता सुनिता चौधरीले तेजुलाल चौधरी, डा. बबी सिंह यादव र रूबी कर्णबीच कडा प्रतिस्पर्धा हुने बताएकी छिन्। हाल सप्तरी जिल्लामा ४ लाख ४६ हजार ४०२ जना मतदाता रहेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय