spot_img

जीतपुरसिमरामा निःशुल्क रेबिज खोप शिविर सञ्चालन हुँदै

spot_img
spot_img

बारा,१२ माघ । रेबिज रोगको नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिकाले निःशुल्क रेबिज खोप शिविर सञ्चालन गर्न लागेको छ। उपमहानगरपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा बाराका विभिन्न वडामा चरणबद्ध रूपमा खोप शिविर सञ्चालन गरिने जनाइएको छ।

पशुपन्छी विकास शाखाका प्रमुख डा. सुबाश झाले घरपालुवा कुकुर र बिरालालाई निःशुल्क रेबिज खोप उपलब्ध गराइने जानकारी दिए। उनका अनुसार रेबिजजस्तो घातक रोगबाट मानव र पशु दुवैको स्वास्थ्य सुरक्षा गर्न यस अभियान अत्यन्त महत्वपूर्ण हुनेछ।

जारी गरिएको कार्यतालिकाअनुसार वडा नं. १ पथलैयामा माघ १२ गते खोप शिविर सञ्चालन गरिनेछ। त्यसैगरी वडा नं. २१ र २२ मा माघ १३ गते, वडा नं. १८ मा माघ १४ गते, वडा नं. १७ मा माघ १५ गते, वडा नं. १६ मा माघ १९ गते, वडा नं. १९ र २० मा माघ २० गते, वडा नं. १५ मा माघ २१ गते, वडा नं. १४ मा माघ २२ गते तथा वडा नं. ४ मा माघ २३ गते निःशुल्क रेबिज खोप शिविर सञ्चालन हुने सूचनामा उल्लेख छ।

अधिकांश वडामा खोप शिविर वडा कार्यालय परिसरमै सञ्चालन गरिने जनाइएको छ। पशुपन्छी विकास शाखाले सम्बन्धित सबै वडाबासीलाई आफ्ना घरपालुवा कुकुर तथा बिरालालाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा ल्याई खोप लगाउन आग्रह गरेको छ।

उपमहानगरपालिकाका अनुसार यस अभियानले रेबिज रोगको जोखिम न्यूनीकरण गर्नुका साथै समग्र जनस्वास्थ्य सुरक्षामा पनि महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय