काठमाडौं,१२ माघ । स्कटल्यान्डसँग फराकिलो अन्तरको हार बेहोरेसँगै नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।
सोमबार भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित भएपछि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त भएको हो। १४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमै ६८ रनमा ९ विकेट गुमाउँदै संघर्षपूर्ण रूपमा इनिङ समाप्त गर्न बाध्य भयो।
खेलका क्रममा कप्तान इन्दु बर्मा सातौँ ओभरको चौथो बलमा चोटग्रस्त भई मैदान बाहिरिएकी थिइन्। उनी त्यसपछि पुनः ब्याटिङका लागि फर्कन सकिनन्। नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४–१४ रन बनाए भने रुबिना क्षेत्रीले १० रन जोडिन्।
स्कटल्यान्डतर्फ अब्ताहा मकसुदले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइन्। कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले समान २–२ विकेट लिए भने ओलिभिया बेल र रचेल स्लेटरले एक–एक विकेट झारे।
बलिङमा प्रभावशाली सुरुवात, अन्तिम ओभरहरूमा चुक्यो नेपाल
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा अलआउट हुँदै १४० रनमा सीमित रह्यो। नेपालले पावरप्लेमै ३ विकेटसहित उत्कृष्ट सुरुवात गरेको थियो र स्कटल्यान्डलाई ७९/६ को अवस्थामा पुर्याएको थियो। तर अन्तिम ओभरहरूमा नियन्त्रण गुमाउँदा स्कटल्यान्डले प्रतिस्पर्धात्मक लक्ष्य दिन सफल भयो।
स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले अविजित सर्वाधिक ४५ रन बनाइन् भने अलिसा लिस्टरले २२, सराह ब्राइसले १८ र मेगान मेकलले १७ रन जोडे।
नेपालका लागि मनीषा उपाध्याय चम्किइन्। उनले ४ ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट लिइन्। रुबिना क्षेत्रीले ३ विकेट लिँदा सीता राना मगर, रिया शर्मा र कविता जोशीले समान १–१ विकेट लिए।
समूह चरणमा नेपालले जिम्बाबेलाई पराजित गरेपनि थाइल्यान्ड, नेदरल्यान्ड्स र स्कटल्यान्डसँग पराजित हुँदै २ अंकमै प्रतियोगिता समाप्त गर्यो।
आजका खेलसँगै सुपर सिक्समा पुग्ने ६ वटै टोलीको टुङ्गो लागेको छ। समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन्। समूह ‘ए’ बाट बंगलादेश, आयरल्याण्ड र पपुवा न्यु गिनीलाई ५ विकेटले हराएको अमेरिका सुपर सिक्समा प्रवेश गरेका छन्।
सुपर सिक्स चरणबाट शीर्ष चार टोलीले आगामी जुनमा इंग्ल्याण्डमा हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।



