बीरगन्ज,१२ माघ । प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिताको तेस्रो दिन चार खेल सम्पन्न भएका छन्। सोमबार सम्पन्न खेलहरूमा गौतम माध्यमिक विद्यालय, मुनलाईट माध्यमिक विद्यालय, सफल एकेडेमी र ठोरी एकेडेमीले शानदार जित हात पारेका छन्।
दिवसको पहिलो खेलमा गौतम माध्यमिक विद्यालयले सेन्ट जेभियर्स स्कुललाई ४–० गोल अन्तरले पराजित गर्यो। गौतमको जितमा राज कर्णले उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ उपाधि जिते।
दोस्रो खेलमा मुनलाईट माध्यमिक विद्यालयले सूर्योदय स्कुलमाथि दबाबपूर्ण र एकतर्फी खेल प्रदर्शन गर्दै १०–० गोलको फराकिलो जित दर्ता गर्यो। मुनलाईटका प्रिन्स आले मगरको शानदार खेलका कारण उनी ‘म्यान अफ द म्याच’ घोषित भए।
तेस्रो खेलमा सफल एकेडेमीले श्री आदर्श माध्यमिक विद्यालयलाई ७–० गोल अन्तरले हराउँदै सशक्त प्रदर्शन गर्यो। सो खेलमा लक्की चौधरी ‘म्यान अफ द म्याच’ बने।
चौथो तथा अन्तिम खेलमा ठोरी एकेडेमीले न्यु वेभ एकेडेमीलाई ६–० गोल अन्तरले पराजित गर्दै प्रभावशाली जित हात पार्यो। ठोरी एकेडेमीका यवेश राई उत्कृष्ट खेल प्रस्तुत गर्दै ‘म्यान अफ द म्याच’ घोषित भए।



