रौतहट,१३ माघ । रौतहटको मौलापुर नगरपालिकामा हात्तीपाइले (फाइलेरिया) रोग उन्मूलनका लागि आम औषधि सेवन अभियान आजदेखि औपचारिक रूपमा सुरु भएको छ। नगर प्रमुख रिना कुमारी साह, स्वास्थ्य सेवा विभागका डाक्टरहरू, कर्मचारीहरू तथा जनप्रतिनिधिहरूले स्वयं औषधि सेवन गरेर अभियानको शुभारम्भ गरेका हुन्। नगरपालिकाले सबै नगरवासीलाई अनिवार्य रूपमा औषधि सेवन गर्न अपिल गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार मौलापुर नगरपालिकाभित्र कुल २९ हजार ९५० जना नागरिकलाई औषधि खुवाउने लक्ष्य राखिएको छ। आजदेखि २६ गतेसम्म नगरपालिकाका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू घरदैलोमा पुगेर नागरिकलाई औषधि सेवन गराउने कार्यक्रम रहेको छ। यस अभियानलाई सफल बनाउन सबै नगरवासीलाई सहयोग गर्न आग्रह गरिएको छ।
स्वास्थ्यकर्मीका अनुसार दुई वर्षभन्दा माथिका सबै नागरिकले यो औषधि सेवन गर्न मिल्छ। थाइराइड, सुगर र उच्च रक्तचाप भएका बिरामीले पनि सुरक्षित रूपमा सेवन गर्न सक्ने बताइएको छ। तर, २३ महिनाभन्दा मुनिका बालबालिका एक हप्ताभित्रका सुत्केरी महिला,गर्भवती महिला,गम्भीर दीर्घरोगका बिरामीले खान नमिल्ने बताईएको छ।
नगरपालिकाले हात्तीपाइले जस्तो दीर्घरोगबाट समुदायलाई सुरक्षित राख्न यो अभियान महत्त्वपूर्ण रहेको भन्दै सबैलाई सचेत र सहभागी हुन अनुरोध गरेको छ।



