वीरगन्ज,१४ माघ । काठमाडौंमा करिब १७ लाख रुपैयाँ बराबरको चाँदीसहित वीरगन्जका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ का २५ वर्षीय किसन साह रहेका छन्।
प्रहरीका अनुसार वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०१–००१ ख ७७२१ नम्बरको यात्रुबाहक बसलाई काठमाडौंको थानकोट क्षेत्रमा रोकी चेकजाँच गर्दा साहको साथबाट २ किलो ५०० ग्राम चाँदी बरामद गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो कि बरामद चाँदीको बजार मूल्य करिब १६ लाख ९० हजार रुपैयाँ रहेको छ। प्रहरीले साहलाई नियन्त्रणमा लिएर बरामद चाँदीको स्रोत र ओसारपसारको उद्देश्य खुलाउन थप अनुसन्धान अघि बढाएको जनाएको छ।




