काठमाडौँ,१७ जेठ । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले दिएको अभिव्यक्ति संसद्को आधिकारिक रेकर्डबाट हटाउन माग गरेको छ।
एमालेका प्रमुख सचेतक ऐन महरले सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ विपरीत धारणा व्यक्त गरेको आरोप लगाउँदै उक्त अभिव्यक्ति हटाउन माग गरेका हुन्।
महरका अनुसार प्रधानमन्त्रीले आकस्मिक प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न चाहेको अवस्थामा विपक्षी दलहरूले नियमावलीको विषय उठाएपछि सभामुखले नियमावलीमा १५ जनाले प्रश्न सोध्न पाउने व्यवस्था स्पष्ट रूपमा उल्लेख नभएको बताएका थिए। तर यो धारणा नियमावलीको प्रावधानसँग मेल नखाने उनको दाबी छ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ को उपनियम ५ मा एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न सक्ने व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको एमालेको भनाइ छ।
यसअघि बैठक सञ्चालनका क्रममा सभामुख अर्यालले “नियमावलीको कुनै पनि नियममा १५ जनाले प्रश्न सोध्न पाउने भनेर लिखित रूपमा छैन” भन्ने अभिव्यक्ति दिएका थिए, जसलाई लिएर एमालेले आपत्ति जनाएको हो।
एमालेले उक्त अभिव्यक्तिलाई संसदीय अभिलेखबाट हटाउनुपर्ने माग गर्दै यसले नियमावलीको गलत व्याख्या भएको जिकिर गरेको छ।




